Monday, January 16, 2012

 

Poem: Mero Nepal

The direct link for Nepal Weekly is here.

मेरो नेपाल

चाहिन्न मलाई तिम्रो कोक र पेप्सी
बरु म मेरै खहरेको पानी पिउँछु
क्याभियार खाएर
सोफेस्टिकेटेड हुनु छैन मलाई
म नेपाली ढिँडो-सिस्नुमै जिउँछु
र, यदि तिमीहरू
मेरो नेपाललाई टुक्रा पार्छौ भने
लिम्बूवान, भोटेवान, चमारवान
बाहुनवान, नेवारवान किन बनाउँछौ ?
बरु तीन करोड टुक्रै पारेर लुछ !
तीन करोडै टुक्रा पार्‍यो भने पनि
एक टुक्रामा त
मरो पनि हक लाग्छ !

रियल स्टेटको लोभ छैन मलाई
मलाई बरु
वर्षौं पानी नपरेको
चाउरी परी, जोवन गई फुटेका
उग्र तिब्बती हावाका वेगले
उदाङ्गै भई अस्मिता लुछेका
अनगिन्ती मुस्ताङे भीरमध्ये
कुनै एउटा भीरको
एउटा सानो टुक्रो मात्र भए पनि हुन्छ ।

मलाई हर बिहानी उठी
ती जग्मगिला उत्तरी हिमाल अगाडि
झुक्न पाए पुग्छ
बरु मुस्ताङको मरुभूमि सरिय
बालुवै होओस्
मेरो नेपालको
माटो चुम्न पाए पुग्छ ।

एन्जेलिना र ऐश्वर्याको
रूपको बखान नगर मलाई
मलाई तल्लाघरे कान्छीसँग
प्रीत बुन्न पाए पुग्छ
वाग्नर र बाकका
सांगीतिक बखान नसुनाऊ मलाई
मलाई गाइने दाइका
पीर-व्यथा सुन्न पाए पुग्छ ।

अहँ, मोजार्ट सुन्नु छैन मलाई
मनसुनको वषर्ायाममा
खेतका ती भ्यागुताका
टरटर र टुरटुर सुनेका छैनौ भने
तिमीले संगीत सुनेको छैन
गाउँले दिदीहरूले
धान रोप्दै गाउने
असारे धून सुनेको छैनौ भने
तिमीले गीत सुनेको छैन ।

देवगणहरू आए मलाई भेट्न
र भने, "नवारले बाहुनलाई ढाँट्ने,
बाहुनले सार्कीलाई डाँट्ने,
नेता देश साट्ने,
अनि, दाइले भाइ काट्ने
यस्तो देशमा के बस्छस् ?"
कामदेव आए र भने,
"हिँड्, म दिन्छु सुन्दर रूपको खजाना !"
अहँ, मैले भनेँ,
आत्मा पवित्र छ मेरो
चाहिन्न मलाई रूप सुन्दर, सयाना ।"

कपटी देव इन्द्र आई भने,
"हिँड म दिन्छु स्वर्गको आनन्द बास !"
अहँ मैले भने,
मेरो नेपालप्रति कर्तव्यविमुख हुन्न म
नदेखाऊ मलाई तुच्छ आश ।

तिम्रो आँखामा बिझाउँछ होला
तर मेरा लागि त
मेरो नेपाल मेरो आँखाको नानी हो
खट्किन्छ होला तिम्रा लागि
मेरो देशको इतिहास
तर मेरा निम्ति त यो
सबैभन्दा सुन्दर कहानी हो
तिम्रा नापतौलमा
केही पनि नहोला यो देश
तर मेरो बुद्धको करुणा यही हो
मेरो मुटुको धड्कन अनि
मेरो इन्देणीको झरना यही हो ।

Labels:


Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]





<< Home

This page is powered by Blogger. Isn't yours?

Subscribe to Posts [Atom]