Wednesday, July 13, 2011

 

Poem: मेरो गाउँको माल्दाइ

 मेरो गाउँको माईलादाइ

मेरो गाउँको माईलादाइ
अझै उस्तै मिलनसार छ
अझै उस्तै सहयोगि छ
माल्दाइ उस्तै छ, अझै फिरेको छैन
किनकि माल्दाइ शहर छिरेको छैन


उसलाई विश्वास थियो
प्रजातन्त्र आउँछ भन्ने,
र उसको विश्वास टुटेन।
प्रजातन्त्र आएपछि
हाम्रो जीवनस्तर उठ्छ भन्ने जानेर
मेरो गाउँको माल्दाइपनि सडकाँ गा'थ्यो
एक मुठी स्वतन्त्र श्वास फेर्छु भन्ठानेर
माल्दाइपनि झन्डै सानतिनो शहिदै भा'थ्यो।

तर माल्दाइ,
अब नउत्रे हुन्छ सडकमा तिमीले
नगरे हुन्छ आन्दोलन
नमरे हुन्छ तिमीले बिरोधाभाषमा।
नबगाए हुन्छ त्यो तातो रगत
तिम्रो तातो रगत
मेरो तातो रगत
हाम्रो तातो रगत
अब स्वार्थी नेताका निम्ती
भेडो प्रहरी र सेनाका निम्ती
कोपराबाट उछिट्टिएको
मूत भएको छ।

तिमीलाई था'छैन माल्दाइ
छयालिस अघिपनि यि नै थिए
छयालिस पछिपनि यि नै छन्
"यी" "ती" नै हुन्
यिनका भोटा बदलिएका छन्
तर फोटा उही छन्।

ए माल्दाइ
बिकासको नाउँमा
के नै गर्न सक्यौं र हामीले?
अब हाम्रो बागमती
लाजले सुक्नमात्र बाँकी छ
मरेका शहीद धर्तिमा ओर्ली
हाम्रो मुखमा थुक्नमात्र बाँकी छ।

तिमी आँफैलाई हेरन माल्दाइ!
पन्ध्र बर्षपछि खोलो त फर्कन्छ भन्थे
तिम्रा त साठी बर्ष बितिसके
तिम्रो सुखको खोलो खै फर्केको?
बरु माल्दाइ
तिमी एकपटक बालुवाटार जाऊ
सोध...बुझ...
कतै मोराहरुले
कोशी र महाकाली जस्तै
तिमी दु:खिको सुखको खोलो
तिमीलाई थाहा नै नदिई
छिमेकी राष्ट्रलाई पो बेचे कि?

Labels:


Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]





<< Home

This page is powered by Blogger. Isn't yours?

Subscribe to Posts [Atom]