Tuesday, July 5, 2011
Poem: मेरो नेपाल
I wrote this a month before coming back to Nepal in November 2009.
मेरो नेपाल
चाहिन्न मलाई तिम्रा कोक र पेप्सी,
बरु म मेरै खहरेको पानी पिउँछु,
क्याभियार खाएर
सोफिस्टिकेटेड हुनु छैन मलाई,
म नेपाली ढिँडो-सिस्नुमै जिउँछु,
र यदि तिमीहरु
मेरो नेपाललाई टुक्रा पार्छौ भने
लिम्बुवान र भोटेवान र चमारवान
र बाहुनवान र नेवारवान किन बनाउँछौ?
बरु तीन करोड टुक्रै पारेर लुछ!
तीन करोडै टुक्रा पार्यौ भने पनि
एक टुक्रामा त
मेरो पनि हक लाग्छ!
रिएल इस्टेटको लोभ छैन मलाई,
मलाई बरु
बर्षौं पानी नपरेकाले
चाउरी परि, जोवनगई फुटेका
उग्र तिब्बती हावाका बेगले
उदाङ्गै भई अस्मिता लुछेका
अनगिन्ती मुस्ताङे भीरमध्ये
कुनै एउटा भीरको
एउटा सानो टुक्रो मात्र भए पनि हुन्छ।
मलाई हर बिहानी उठी
ती जग्मगिला उत्तरी हिमाल अगाडि
झुक्न पाए पुग्छ,
बरु मुस्ताङको मरुभूमी सरिय
बालुवै होओस्-
मेरो नेपालको
माटो चुम्न पाए पुग्छ।
एन्जेलिना र ऐश्वर्याको
रुपको बखान नगर मलाई,
मलाई तल्लाघरे कान्छीसँग
प्रित बुन्न पाए पुग्छ,
वाग्नर र बाकका
साङ्गितिक बखान नसुनाऊ मलाई,
मलाई गाइनेदाइका
पिर-ब्यथा सुन्न पाए पुग्छ।
अहँ, मोजार्ट सुन्नु छैन मलाई,
मनसूनको बर्षायाममा
खेतका ती भ्यागुताका
टर-टर र टूर्-टूर सुनेका छैनौ भने
तिमीले सङ्गित सुनेको छैन,
गाउँले दिदिहरुले
धान रोप्दै गाउने
असारे धून सुनेको छैनौ भने
तिमीले गीत सुनेको छैन।
देवगणहरु आए मलाई भेट्न,
र भने-
"नेवारले बाहुनलाई ढाँट्ने,
बाहुनले डुमलाई डाँट्ने,
नेता देश साट्ने,
अनि दाइले भाई काट्ने,
यस्तो देशमा के बस्छस्?"
कामदेव आए र भने-
"हिंड्, म दिन्छु सुन्दर रुपको खजाना!"
अहँ, मैले भने,
आत्मा पवित्र छ मेरो,
चाहिन्न मलाई रुप सुन्दर, सयाना।
कपटी देव ईन्द्र आई भन्यो-
"हिंड्, म दिन्छु स्वर्गको आनन्द बास!"
अहँ, मैले भने,
मेरो नेपालप्रति कर्तब्यबिमूख हुन्न म,
नदेखाऊ मलाई तुच्छ आश।
तिम्रो आँखामा बिझाउँछ होला,
तर मेरा लागि त
मेरो नेपाल मेरो आँखाको नानी हो,
खट्किन्छ होला तिम्रा लागि
मेरो देशको इतिहाँस,
तर मेरा निम्ती त यो
सबैभन्दा सुन्दर कहानी हो,
तिम्रा नापतौलमा
केही पनि नहोला यो देश,
तर मेरो बुद्धको करुणा यही हो,
मेरो मुटुको धड्कन, अनि
मेरो ईन्द्राणिको झरना यही हो।
Labels: poem
Subscribe to Posts [Atom]
Post a Comment